अब के धन्दा गर्लान भारत विरोधको धन्दा गर्नेहरुले ?

0

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक सफल नेपाल भ्रमणले नेपालमा भारत विरोध कै नाममा राजनीतिक खेती गरिरहेकाहरुका खेतीमा खडेरी पर्ने सम्भावना बढेर गएको छ । भारतीय प्रधानमन्त्री मोदीले पहिलो विदेशी नेताको रुपमा नेपाली संसदमा सम्बोधन गर्दै भारत विरोधी राजनीतिक खेती गर्नेले आमतवरले उठाउने गरेका प्रत्येक मुद्दाहरुलाई सम्बोधन गरेर यस्ता मुद्दा उठाएर आफ्नो निहीत स्वार्थपूर्ति गर्दै आएकाहरुको लागि मुद्दाको अकाल ल्याइ दिएका छन् । खासगरी सन् १९५० को नेपाल भारत शान्ति तथा मैत्री सन्धिको सम्बन्धमा, बुद्धको जन्म थलोको सम्बन्धमा, नेपालको आन्तरिक मामिलामा हस्तक्षेपको सम्बन्धमा, नेपालको जलस्रोतमाथि कब्जा जमाउन चाहेको सम्बन्धमा, नेपाललाई हेप्ने गरेको सम्बन्धमा लगायतका विषयहरुमा भारत सरकारको पक्ष राखी दिएर यी मध्य अधिकांश मनोगत मात्र रहेको स्पष्ट पारेका छन् । सन् ५० को सन्धिको सन्दर्भमा नेपालले तयार गरेको मस्यौदा भारतलाई स्वीकार्य हुने मनशाय व्यक्त गरेर सन् ५० को सन्धिको मुद्दालाई अन्त्य गरी दिएका छन् भने आफ्नो सम्बोधन कै क्रममा बारम्बार नेपाललाई बुद्ध जन्मेको देश भनेर बुद्ध जन्म थलो सम्बन्धी मुद्दालाई पनि औचित्यहीन बनाइदिएका छन् । यस्तै भारत नेपाललाई बराबरीको मित्र मान्दछ र नेपालीहरुको उच्च सम्मान गर्दछ, नेपाली सार्वभौमिकताको पूर्ण सम्मान गर्छ, नेपालको जलस्रोत माथि कब्जा जमाउन चाहेको छेन बल्कि नेपालको विकास र द्धिपक्षीय हीतमा यसको अधिकतम उपयोग होस भन्ने चाहन्छ भन्ने कुराको विश्वास नेपाली जनतालाई दिलाउन सफल भएका छ्न । यस पृष्ठभूमिमा यिनै मुद्दाहरु लिएर भारत विरोधको राजनीति गर्न चाहनेहरुले अब नेपाली जनताको बहिष्कारको सामना गर्नुपर्ने सम्भावना बढेर गएको छ ।
मोदीको यस नेपाल भ्रमणले एक अर्काप्रतिको शंका र अविश्वासलाई धेरै हदसम्म हटाएको छ र अब नेपाल भारत मिलेर विकास मार्गमा अगाडि बढने बाटो खलेको छ । आम नेपाली जनताको इच्छा र चाहना पनि यही नै रहेको समेत मोदीको भ्रमणको दौरान र यसपछि निरन्तर आइरहेका विभिन्न क्षेत्रहरुको प्रतिक्रियाहरुबाट स्पष्ट भएको छ । भारत विरोधी राष्ट्रवादको आडमा नेपालको विकास मार्गलाई अवरुद्ध गर्नेृ विकास विरोधीहरुलाई अब उप्रान्त नेपाली जनताले नै बहिष्कार गर्ने र ठेगान लगाउने वातावरण तयार भएको महशुस गरिदैछ र यो नेपाल भारत सम्बन्धको दृष्टिकोणले मात्र नभई नेपालको विकास र समृद्धिकै दृष्टिकोणले पनि अत्यन्तै सकारात्मक रहेको छ ।

Share.

Leave A Reply