आतंकवादी गतिविधि चलाउने बारामा सार्वजनिक

0

दिपेन्द्र गिरी
वीरगन्ज । दुबईमा बसी नेपाली र भारतीय नागरिकहरु परिचालन गरी आतंकवादी गतिविधि सञ्चालन गरेको आरोप लागेका नेपाली नागरिक समसुल होदा सहित चार जनालाई बारा प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी कलैयामा सार्वजनिक गरेको छ ।
प्रहरीले विभिन्न अपराधका मुख्य योजनाकार बारा परशुरामपुर–४ घर भई अस्थायी रुपमा कलैया–८ बसपार्क टोल बस्ने ४८ वर्षीय समसुल होदा, कलैया नगरपालिका–१० का ३५ वर्षीय सुमो चालक मोजाहिर अन्सारी, आपराधिक कार्यमा फोन सम्पर्क भएका व्यक्ति कलैया–४ का २४ वर्षीय आशिष सिंह र २३ वर्षीय उमेश कुर्मीलाई सार्वजनिक गरेको हो । उनीहरुसंगै संलग्न बारा महागढीमाई–१ सेमराते गछियाका २७ वर्षीय गिरीबाबा भनिने वृजकिशोर गिरीको भने काठमाडौंमा उपचार भइरहेको छ । पुस २४ गते गिरीलाई पर्सा बिजवनिया गाउबाट ६ राउन्ड गोली प्रहार गरी प्रहरीले पक्राउ गरेको थियो भने पुस १५ गते अन्य मोजाहिर, आशिष र उमेश पनि पक्राउ परेका थिए ।
नेपाली नागरिकको संलग्नतामा आतंकवादी समूह सक्रिय रहेको खुलेपछि प्रहरीको विशेष ब्युरोले अनुसन्धान शुरु गरेको थियो । ब्युरोको अनुसन्धानमा होदा भारतीय नक्कली रुपैंया कारोबारमा ब्युरोको निगरानीका ब्यक्ती भएको र उनी दुबईमा पुगेको खुलेपछि ब्युरोले होदाको सम्पर्कमा रहेका ब्यक्ती मार्फत उनलाई नेपाल फर्काउन पहल गरेको थियो ।
विशेष ब्युरो स्रोतका अनुसार, ४८ वर्षीय उनी सन् २००१ मा रोजगारीको लागि मलेसिया पुगेका थिए । त्यहा करिब एक वर्ष काम गरेपछि उनी नेपाल फर्किएका थिए । यहा आएपछि राष्ट्रिय मधेस समाजवादी पार्टीमार्फत राजनीति पनि थालेको विशेष ब्यूरो स्रोतले जनाएको छ । शरतसिंह भण्डारी नेतृत्वको रामसपाबाट उनी ०७० सालको संविधानसभा चुनावमा उम्मेवार पनि बनेका थिए । तर, राजनीतिमा पार नलागेपछि उनले जग्गाको कारोबार सुरु गरेका थिए । त्यही बीचमा उनको सम्पर्क दुबईमा रहेका एक पाकिस्तानी नागरिकसग सम्पर्क भएको अनुसन्धानको क्रममा देखिएको छ ।
सफी नाम गरेका पाकिस्तानी मार्फत होदा एक वर्षअघि पहिलो पटक दुबई पुगेको देखिएको छ ।
पैसा कमाउने मोहमा पाकिस्तानी नागरिक मार्फत दुवई पुगेका होदा एक वर्षमै दाउदको ग्याङमा संलग्न भए । नक्कली भारु पास गराउन सफल भएपछि उनलाई भारतको रेल स्टेशनमा बम विष्फोट गराउने जिम्मेवारी दिइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
होदाले गत पुसमा भारतको केही रेल स्टेशनमा बम विष्फोट गराउने जिम्मेवारी पाएका थिए । तर, त्यो काम पूरा गर्न नसकेपछि उनले दुबईमा आफूलाई असुरक्षित महसुस गरेका थिए ।
बम विष्फोट गराउने कामका लागि होदाले नेपालमा अरुलाई नै खटाएका थिए । त्यसका लागि उनले नेपाली एजेन्टलाई नौ लाख रुपैयाँ समेत पठाएको देखिन्छ ।

Share.

Leave A Reply