गृहसचिव रेग्मीबाट सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठलाई दज्र्यानी चिन्ह प्रदान

0

काठमाडौं,
गृहसचिव लोकदर्शन रेग्मीले सशस्त्र प्रहरी बलको सर्वोच्च पद सशस्त्र प्रहरी महानिरीक्षकमा बढुवा हुनुभएका सिंहबहादुर श्रेष्ठलाई मंगलबार गृहमन्त्रालयमा आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठ नेपाल सरकार मन्त्रिपरिषदको यहि फागुन १ गतेको निर्णयले सशस्त्र प्रहरी महानिरीक्षकमा पदोन्नती हुनुभएको हो । महानिरीक्षक श्रेष्ठले सशस्त्र प्रहरी बलको नेतृत्व सम्हाल्दै अग्रज नेतृत्व वर्गले थालनी गरेको कार्यलाई निरन्तरता दिदै सवैको सल्लाह सुझाव अनुरुप अगाडी बढ्ने बताउनुभएको छ । उहाले संगठनलाई प्राप्त म्याण्डेट अनुरुप अगाडी बढ्ने कुरा समेत बताउनुभएको छ ।
गृहमन्त्रलायमा मंगलबार आयोजित उक्त विशेष समारोहमा गृहसचिव रेग्मीले राज्यले सुम्पेको जिम्मेवारीलाई सशस्त्र प्रहरी बलले उपलब्धिमूलक ढंगबाट पुरागर्दै आएको चर्चा गर्नुहुदै नया नेतृत्वले प्राप्त उपलब्धि र पूर्वज नेतृत्व बर्गले गरेका कार्यहरुलाई निरन्तरता दिदै परिणाममुखी कार्यसम्पादनमा कृयाशिल रहने विश्वास व्यक्त गर्नुभयो ।
‘संगठनको सबैभन्दा ठुलो जिम्मेवारी र चुनौती राज्यले तपाईलाई सुम्पेको छ’, गृहसचिव रेग्मीले भन्नुभयो– ‘यसलाई पुरा गर्न राष्ट्र, जनता र संगठनलाई शिरमा राखेर अगाडी बढ्नुहुनेछ भन्ने विश्वास लिईएको छ ।’
नेतृत्व वर्गले संगठनका सकल दर्जा लगायत सबैको विश्वास जित्दै संगठनलाई सबैको आशा, भरोसा र विश्वासको केन्द्रविन्दुको रुपमा स्थापित गर्नुपर्ने बताउनुहुदै गृहसचिव रेग्मीले भन्नुभयो–‘मातहत कर्मचारीको खुशी र पिरमर्कालाई ध्यान दिदै कार्य गर्न सक्ने नेतृत्व नै सधैं सफल ठहरिन्छ ।’
उहाले दायित्व निर्वाह गर्ने शिलशिलामा सशस्त्र प्रहरी बललाई आवश्यक पर्ने सल्लाह, सुझाव, निर्देशन र सहयोग उपलब्ध गराउन गृहमन्त्रालय सधैं तयार रहेको कुरा समेत उल्लेख गर्नुभयो ।
नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले देश र जनताको सेवा र सुरक्षामा पेशागत इमान्दारिताकासाथ मन, वचन र कर्मले कर्तव्यनिष्ठ रहने उल्लेख गर्नुहुदै संगठनलाई प्राप्त म्याण्डेट अनुसार अग्रजहरुले थालनी गरेका सकारात्मक कार्यहरुलाई निरन्तरता दिदै संगठन अगाडी बढ्ने बताउनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले राज्यको मूल्य, मान्यता र नेपाल सरकारबाट प्राप्त नीति निर्देशनलाई अक्षरस पालना गर्दै सशस्त्र प्रहरी बल कार्यक्षेत्रमा कटिवद्ध रहने बताउनुहुदै सुरक्षास्थिति र भूगोल अनुसार आवश्यक कार्ययोजना सहित संगठनका सम्पुर्ण राष्ट्रसेवकहरुलाई चलायमान ढंगले परिचालन गरिने उल्लेख गर्नुभयो ।
एपीएफ अधिकृत तथा जवानहरुको हितलाई ध्यानमा राख्दै वृत्तिविकास र कल्याणकारी कार्यहरु संचालन गरिने चर्चा गर्नुहुदै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले नेपाल सरकारले आफुलाई सुम्पेको जिम्मेवारीलाई पुरागर्न सबैको सहयोग र साथमा रहेर व्यक्तिगत क्षमताले भ्याएसम्म प्रभावकारी ढंगबाट लागिरहने बताउनुभयो ।
उक्त विशेष समारोहमा सशस्त्र प्रहरी बलका अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु वासुदेव वली, सनतकुमार बस्नेत, किशोरकुमार लामा, शैलेन्द्रकुमार श्रेष्ठ र दुर्जकुमार राई लगायत गृहमन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख लगायत उच्च अधिकृतहरुको उपस्थिति रहेको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले मंगलबार नै सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा पदबाहाली गर्नुकासाथै सशस्त्र प्रहरी बलका अधिकृत तथा बिल्लादार जवानहरुलाई निर्देशन सम्बोधन गर्नुभयो ।
उहाले कल्याणकारी कार्ययोजना, सरुवा, बढुवा, मिसन लगायतका विभिन्न अवसरहरुलाई पारदर्शी ढंगबाट अगाडी बढाउनुका साथै आर्थिक अनियमितता र भ्रष्टाचारमा शून्य सहनशिलताको नीति अवलम्वन गरिने चर्चा गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले नेपाल सरकार र नेपाली नागरिकको भरपर्दो सुरक्षा निकायको रुपमा सशस्त्र प्रहरी बललाई स्थापित गर्न आगामी दिनमा अझै मेहनत र त्यागका साथ कर्तव्य पथमा समर्पित रहन मातहत सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षकको उक्त निर्देशन सम्बोधनलाई सशस्त्र प्रहरी बलले प्रयोगमा ल्याएको ‘लाइभ भिडियो स्ट्रीमिङ’, इन्ट्रानेट तथा सशस्त्र प्रहरी संचारद्वारा देशभर सशस्त्र प्रहरी बलका इकाईहरुमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठ वि.सं. २०४४ साल चैत २९ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक दर्जाबाट सेवा प्रवेश गर्नुभएको हो । उहा २०५८ साल बैशाख ४ गते सशस्त्र प्रहरी बलमा स्थानान्तरण हुनुभएको हो ।
त्रिभुवन विश्वविद्यालयबाट एमए गर्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले स्वदेश तथा विदेशमा गरी विभिन्न १९ वटा व्यावसायिक तालिम हासिल गर्नुकासाथै विभिन्न आठ वटा मानपदवी, अलंकार र पदकबाट सुशोभित हुनुहुन्छ ।
पिता केशव श्रेष्ठ र माता सेती श्रेष्ठको सुपुत्रको रुपमा वि.सं. २०१९ साल फागुन १५ गते काठमाडौंको डिल्लीबजारमा जन्मनुभएका सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले कार्यक्षेत्रमा उत्कृष्ट कार्यगरे वापत पटक–पटक गरी चार ग्रेड थप, पुरस्कार र प्रसंशापत्रहरु प्राप्त गर्नुभएको छ ।
समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु प्रेमकुमार शाही, प्रकाश ओझा र शैलेन्द्र खनाल लगायत एपीएफ अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply