धरहरा कस्तो बनाउने ?

0

बडा हर्ष छ । सरकारले अर्बौं खर्चेर फेरि धरहराको पुनर्निर्माण थाल्ने भएको छ । अझ हर्ष त त्यो लिप्mट र अन्डरग्राउन्ड पार्किङ सहितको हुनेछ रे । हेर्दा हेर्दै लिप्mट चढेर धरहरामा जान पाइने भैयो । भाग्यमा चै लिएरै आको हो हामीले । तर धरहरा जस्तो एतिहासिक लिङ्गो ठड्याइसकेसी त्यसमा जाबो लिप्mट र अन्डरग्राउन्ड पार्किङ मात्रै बनाएर पुग्दैन । धरहरा पस्दा भोक लाग्यो भने के गर्ने ? जाबो खाजा खान नि बाहिर निस्कने ? त्यसैले अब बन्ने धरहरामा पहिलो तलामै धरहरा मोःमोः सेन्टर राख्नु पर्छ । चट्ट लाएर कुपन काटेर । टपरीमा पिलास्टिकको चेम्चाले मोःमो खान कम्ता टेस पर्छ ? त्यो पनि धरहरामा । संगै बाजेको सेकुवा कर्नर पनि राख्नु पर्छ । धरहराभित्रै तात्तातो सेकुवा खान पर्योन्त ।
दोश्रो तलामा उक्लिनासाथ एउटा एटिएम मेसिन नि चाहिन्च । धरहराभित्र पैसा गमलामा फल्छ र ? सगै एउटो बैंक फाइनान्सको अफिस नि राख्नु पर्छ । गोजिमा पैसाको बिटै छ भने किन बोकेर उक्लिनु ?
तेस्रो तलामा उक्लिने भर्याङमै पत्रिकाहरु बेच्न राख्नु पर्छ । ताकी मान्छेले उभिएर पत्रिका पढ्न सकुन । सगै पानीपुरी र चट्पटे बनाउने घुम्ती दोकान होस । त्यही ससेस र स्याभले नि पाइए त अझ गज्जप । लुम्बिनी तन्दुरी भोजनालय होस् । थकाली भान्साघर होस । एउटा दोहोरी र डान्सबार पनि त्यही भित्र होस् ।
चौथो तलामा एउटा ट्युसन सेन्टर होस् । कन्सल्टेन्सी होस् । ल्याङ्वेज कम्प्युटर इन्सिच्युट त्यही होस् । आइएल्टिस, लोकसेवा तयारी त्यहि गर्न सकियोस् ।
पाचौ तलामा स्टेसनरी, फुटोकपी । स्पारल ब्याण्डिङ होस् । मिले त एउटा धरहरा मल्टिपल कलेज पनि त्यही होस् ।
छैटौ तलामा सेमिनार हल होस् । त्यही छलफल गरि राजनीतिक पार्टीहरु, सरकारी गैरसरकारी सङ्घ संस्थाहरुले धरहरा घोषणापत्र जारी गरून् ।
सातौं तलामा मोटरसाइकल वर्क सप होस । धरहरामा बिग्रेको मोटरसाइकल बनाउन के बाहिर लानु ? ए साच्ची । मोटरसाइकल त तल अन्डरग्राउन्ड पार्किङ मै पार्क गरिन्छ नि । मोटरसाइकल नै माथी नआएसी वर्कसप किन चाइयो ? भो छाडिदिम । वर्कसप नराखम् । बरु एउटा ब्युटिपार्लर राख्दा हुन्च । पुरुषको लागि सैलुन । एउटा बुटिक, कास्मेटिक पसल र फेन्सी त्यही होस् ।
आठौ तलामा धरहरा न्युज, इन्टरटेन्ट्मेन्ट स्पोर्ट्स चेनलको सम्युक्त अफिस होस् । एन्सेल टेलिकमको बितरण केन्द्र होस् ।
नवौं तलामा स्विमिङ पुल होस । जिम एन्ड फिटनेस सेन्टर त्यही होस् ।
दशौं तलामा काठमाडौ भ्यू रेस्टुरेन्ट होस । सगै धरहरा क्यासिनो होस ।
एघारौ तलामा पार्टी प्यालेस होस् ।
अब भन्नुहोला धरहराको गजुर चै कहा राख्ने ? अरे यार । जाबो एउटा गजुर अन्डरग्राउन्ड पार्किङमै अटाइहाल्छ नि । त्यही राखुम् ।

Share.

Leave A Reply