धुलोखानी आयोजना

0

मेलम्ची आयोजना सुरु हुदा सोचिन्थ्यो (मेलम्चीबाट ख्वालाला पानी आएसी काठमाडौ सिनित्तै पखालिन्छ । यहाका फोहोरमैला सबै बगाएर लान्छ । यहाका धुलोमैलोको नामोनिशान हराउनेछ । अनि त धुलो हेर्न नि काठमाडौंबासीलाई धुलिखेल जानुपर्छ ।
तर उल्टो भो । बरु धुलीखेलका चै काठमाडौं आए भने धुलोले वाक्क भएर जान्छन ।
बर्षौपछि मेलम्ची आउछ आउछ भन्ने हावा आउन थाल्या छ । त्यही हावाले ल्याएको धुलोले बाताबरण कुइरिमण्डल भाछ । यहाका घर, घर भाछैन । धुलोको ढिस्को भाछ । यहाका रुख तथा बिजुलीका खम्बा, रुख खम्बा छैनन् । धुलोका टौवा भएका छन । र मान्छेहरु मान्छे भएका छैनन् । धुलाकै मुर्ती भएका छन् । चलायमान धुले भूत भएका छन् ।
यसरी मेलम्ची आएर काठमाडौंमा धुलोको छेलोखेलो भएछ । पाइप गाड्ने भनेर खनिएका खाल्डाहरुबाट उत्पादित धुलोबाट उपत्यका धुलोमा आत्मनिर्भर भएको छ । र सबै मान्छे माक्सबादी भएका छन् ।
यहा पानी भन्दा बढी । तरकारी, भात भन्दा बढी । कोदाको ढिडो र लोकल कुखुराको मासु भन्दा बढी । कुलेखानी भन्दै जनकपुरबाट ल्याएका कत्ले माछाभन्दा बढी । ट्रक चढी आएका बुढी भैसीका मःमभन्दा नि बढी । न्युरोडको गुत्पाक भन्दा नि बढी । उपत्यकामा बन्ने मोजाका स्पेसल लोकल मदिरा भन्दा पनि बढी । आस गरेर बस्यो ‘ल खा ।’ भनी दिइने ख्वाइने लोप्पा भन्दा पनि बढी । बिश्वास गर्दा पाइने धोका भन्दा पनि बढी काठमाडौंबासीले धुलो खान पाएका छन । त्यही पनि सित्तैमा ।
सित्तैमा यसरी मनग्गे धुलो खान दिने मेलम्ची आयोजनाको जय होस् । तर आयोजनाको नाम चै ‘मेलम्ची खानेपानी आयोजना’ हुनु कताकता नमिले झै लाग्छ । अब खानेपानी दिने भए पो खानेपानी आयोजना भन्नू ? पानी थोप्पो दिन्न । बरु नखाने धुलो दिन्छ । नखाए नि ‘लौ घिच् ।’ भनेर कोच्याको कोच्यायै छ । त्यसैले यसलाई मेलम्ची खानेपानी आयोजना नभनेर ‘मेलम्ची धुलोखानी आयोजना ’ भने कसो होला ? आखिर धुलो ख्वाएको ख्वायै छ ।
धुलोखानी आयोजना नै भएपनी एकदिन यसले एकदिन पानी ल्याओस् । बरु धुलेखानी आयोजनाबाट पानी आउन्जेल ‘धुलोखाने’ पो रहलान् कि नरहलान् ?

Share.

Leave A Reply