नेपाल–भारत सम्बन्धमा नयाँ युगको थालनी

0

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही साउन १८ गते हुन लागेको दुईदिने नेपाल भ्रमणप्रति नेपालको राजनीतिक तहमा मात्र नभई जनस्तरमै पनि अत्याधिक उत्साह देखा पर्दैछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सपथ ग्रहण समारोह मै सार्क सदस्य राष्ट्रहरुका प्रमुख नेतृत्वलाई आमन्त्रित गरेर छिमेकी मित्र राष्ट्रहरुसँगको सम्बन्धलाई विशेष प्राथमिकता दिने आफ्नो सरकारको नीति हुने सन्देश दिएकै कारणले मात्र नभई भुटान पछि दोस्रंो औपचारिक विदेश भ्रमणको लागि नेपालको चयन तथा भारतीय विदेश मामिला सम्बन्धी मन्त्री सुषमा स्वराजको तीन दिने अति सफल नेपाल भ्रमणका कारणले पनि मोदीको नेपाल भ्रमणप्रति नेपालमा ऐतिहासिक उत्साह देखा पर्दैछ । खासगरी विदेश मामिला सम्बन्धी मन्त्री सुषमा स्वराजले आफ्नो नेपाल भ्रमणको दौरान नेपालका प्रत्येक चासोका विषयहरु सम्बोधन गर्न भारत तयार रहेको र नेपालले चाहेको सहयोग गर्न तयार रहेको स्पष्ट पारेपछि नेपालले मोदीको नेपाल भ्रमणलाई ऐतिहासिक अवसरको रुपमा लिएको छ ।
यद्यपि यस ऐतिहासिक अवसरको उचित सदुपयोग गर्न नेपालले आवश्यक गृहकार्य गर्न नसकेको कुरा राजनीतिक तहबाटै अगाडि आइरहेका छन् । तथापि सोमबार मंगलबार बसेको तीन प्रमुख राजनीतिक दलको बैठकले भारतीय प्रधानमन्त्रीको भ्रमणलाई अधिकतम सफल बनाउन तीन सदस्यीय कार्यदल गठन गरेको छ । सुषमा स्वराजको भ्रमणले भारतसँगको प्रत्येक मुद्दालाई शंकाको नजरले हेर्ने, पीटीए, बिप्पा, जलसेत उपयोग जस्ता भारतको लागि भन्दा पनि नेपालको लागि जरुरी विषयमा समेत राष्ट्रघातको हल्ला फिजाएर अनावश्यक भ्रम सिर्जना गर्नेहरुको मुखमा पनि तत्कालको लागि भने बुझो लागेको छ । तर नेपाल–भारत सम्बन्धमा नयाँ युगको सुरुवात गर्ने हो भने (जसको लागि यो अति नै उपयुक्त अवसर हो) यस प्रकारका नीहित स्वार्थी तत्वहरुको तथाकथित राष्ट्रवाद यथार्तमा राष्ट्रवाद नभई राष्ट्रघात हो र यिनै मुठ्ठिभर तत्वहरुका भारत विरोधी भ्रामक नकारात्मक प्रचारबाजीका कारणले नेपाल–भारतबीच विश्वासको वातावरण बन्न नसकेको तथा नेपालमा अपेक्षित भारतीय लगानी, भारतीय पर्यटक आउन नसकेको र जलस्रोत विकास हुन नसकेर नेपालका नदीहरुका पानी त्यतिकै खेर गइरहेको र एशियाकै समृद्ध राष्ट्र बनिसक्नु पर्ने नेपाल विश्वकै दरिद्रतम राष्ट्रको श्रेणीमा बस्न बाध्य भइरहेको छ भन्ने कुराप्रति नेपाली जनतालाई सचेत र जागरुक गराउनु जरुरी रहेको छ । किनभने नेपालीहरुको गरिबी र अभावबाटै व्यक्तिगत स्वार्थपूर्ति गरिरहेका देशी विदेशी शक्तिहरुको षडयन्त्र र भ्रामक प्रचारबाजी समय पाउने बित्तिकै पुन सुरु हुनेछ । त्यसैले आवश्यकता छ, नेपाली जनतामा चेतना र जागरुकताको । राष्ट्रवाद, राष्ट्रघात, राष्ट्रिय स्वाधिनता र राष्ट्रिय स्वाभिमानको सही व्याख्याको । मुलुकको विकासलाई अवरुद्ध गर्ने प्रयास जहाँ जो सुकैबाट भए पनि त्यो राष्ट्रवाद हुन सक्दैन किनभने समृद्धि र विकासले मात्र राष्ट्रवाद, राष्ट्रिय स्वाधिनता सवल हुन्छ । अहिले नेपालका शिक्षित तथा अवसर प्राप्त जनसंख्या मध्य पनि ठूलो संख्या यस्ता व्यक्तिहरुको छ जिनले मौका पाउने बित्तिकै मुलुक त्याग्ने गरेका छन् तर यदि मुलुक समृद्ध हुने हो भने स्वत: यस्तो सोचमा कमी आउनेछ । वास्तवमा अवसर हुँदा हुँदै पनि देश र जनतालाई गरिबी र अन्धकारमा राख्नु राष्ट्रघात हो । तर नेपालमा विप्पा सम्झौता गर्दा, पीटीए गर्न खोज्दा, जलस्रोत उपयोगको कुरा चल्दा राष्ट्रघातको कुरा उठाइन्छ । जबकी भारतसँग विप्पा सम्झौता, पीटीए वा जलस्रोतमा साझेदारीका कुराहरु भारतकोलागि भन्दा नेपालको लागि जरुरी छ ।
नेपालमा भारतीय लगानी बढाउनु नेपालको आर्थिक विकास, रोजगारीको अवसर सिर्जना गर्न जरुरी रहेको छ । भारतीय लगानीकर्ताको लागि अमेरिका, युरोप, अरब, अफ्रिका र स्वयं भारतकै विशाल उपभोक्ता बजार उपलब्ध छन् र अनेक मुलुकले भारतसँग बिप्पा सम्झौता गरेको पनि छ भने नेपालले भारतीय लगानीकर्तालाई लगानी सुरक्षाको ग्यारेन्टीसम्म पनि नगरी भारतीय लगानीकर्ता नेपालमा लगानी गर्न आउने अपेक्षा गर्नु कठिन रहेको छ । खासगरी त्यस परिस्थितिमा जब भारतीय लगानीका उद्योगहरुले नेपालमा समय समयमा अनेक थरिका समस्या भोग्दै आएका छन् । यस्तोमा भारतसँगको बिप्पा सम्झौतालाई राष्ट्रघात भन्नेहरु राष्ट्रवादी हुन वा राष्ट्रघाती ? जनतालाई सम्झाउनु जरुरी रहेको छ र नेपालमा भारतीय लगानी ल्याउन विप्पा सम्झौता कार्यान्वयन गर्नु जरुरी रहेकोछ । यस्तै पीटीए पनि नेपालको आवश्यकता हो । भारतले त बिजुली खरिद बिक्रीको लागि मात्र पीटीए गरिरहनु पर्ने खासै आवश्यकता महशुस गरेकै पनि छैन । तर नेपालको जलविद्युत आयोजनामा लगानी भित्र्याउन नेपालको लागि भारतसँग उर्जा व्यापार सम्झौता (पीटीए) गर्नु जरुरी रहेको छ भने यसलाई राष्ट्रघाती भन्नेहरु वास्तवमा राष्ट्रवादी वा राष्ट्रघाती ? जनतालाई सम्झाउनु जरुरी रहेको छ । वास्तवमा यस्ता सन्धि सम्झौताहरुलाई अनावश्यक भ्रम सिर्जना गरेर विवादास्पद बनाउनेहरुको दुष्प्रचारलाई समयमै चिर्ने र जनतालाई सत्य तथ्यबाट अवगत गराउदै यस्ता तत्वहरुलाई नंग्याउने प्रक्रियाको पनि सुरुआत गर्न सकिए बल्ल नेपाल–भारतबीच भ्रमका कारणले समय समयमा देखापर्ने अविश्वासबाट बच्न सकिन्छ । यो नेपाल–भारत सम्बन्धको दृष्टिकोणले मात्र होइन नेपालको दिगो विकास र समृद्धिको दृष्टिकोणले पनि जरुरी रहेको छ । 
किनभने नेपालको समृद्धि र विकासका अधिकांश पूर्वाधार चाहे त्यो जलस्रोतको विकास, बिजुलीको निर्यात पर्यटनको विकास, कृषि क्षेत्रको विकास, पहाडी क्षेत्रहरुमा जडिबुटी फलहरुको उत्पादन र निर्यात जस्ता विषय किन नहोस सबै विषयहरुमा भारतसँगको सद्भाव र सहकार्य जरुरी रहेको छ ।

Share.

Leave A Reply