मोर्चाका अन्य घटकले जिम्मेवारीपूर्वक काम नगरेको सद्भावनाको आरोप

0

सद्भावना पार्टीले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका अन्य
घटकले जिम्मेवारीपूर्वक काम नगर्दा तराई–मधेस आन्दोलनले उचाई लिन नसकेको
आरोप लगाएको छ । फागुन ७–१० गतेसम्म बसेको सद्भावना राष्ट्रिय
कार्यसम्पादन समितिको बैठकले मोर्चाका अन्य घटकले जिम्मेवारीपूर्वक काम नगर्दा
राज्यलाई घुंडा टेकाउन नसकिएको निष्कर्ष निकालेको हो । वीरगन्ज–रक्सौल
नाका मोर्चाको निर्णय अनुसारै आन्दोलन अवधिभर सद्भावनाले अवरुद्ध गरेको तर
अन्य पार्टीले जिम्मेवारी दिइएका विराटनगर–जोगबनी, भैरहवा–सुनौली नाका
अवरोध गर्न नसकेको आरोप सद्भावनाको छ । ‘वीरगन्ज–रक्सौल नाकाझैं
सम्पूर्ण सीमा नाका पूर्ण रुपमा बन्द गराउन सफल भएको भए राज्यलाई घुडा
टेकाउन यो आन्दोलन सम्भव हुन्थ्यो,’ सद्भावनाले भनेको छ ।
मोर्चाले विराटनगर–जोगबनी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम
र भैरहवा–सुनौली महन्थ ठाकुर नेतृत्वको तराई–मधेस लोकतान्त्रिक पार्टीलाई
अवरुद्ध गर्न जिम्मेवारी दिएको थियो । मोर्चाले नाका अवरुद्ध कार्यक्रम स्थगित
गर्नु दुई दिनअघिसम्म महतोले नेतृत्व गरेको नाका पूर्ण रुपमा ठप्प थियो ।
एउटा मात्रै नाका अवरुद्ध हुदा आन्दोलन प्रभावकारी नभई उल्टो जनतालाई कष्ट
भएका कारण नाका अवरुद्धको कार्यक्रम फिर्ता लिएको सद्भावनाको प्रस्टोक्ति छ

मोर्चाले अघि सारेको ११ बुदे मागमा प्रस्ट रुपमा उभिएको जनाउदै
सद्भावनाले मृतकलाई सहिद घोषणा, घाइतेको उपचार तथा पक्राउ परेकालाई
रिहा गर्नसमेत माग गरेको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको
नेतृत्वमा रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रको कार्यविधि र कार्यक्षेत्र स्पष्ट
हुन सके मोर्चाले सहभागिता जनाउने अध्यक्ष राजेन्द्र महतोले जनाएका छन् ।
संसदभित्र रहेका तराई–मधेस केन्द्रित थप तीन दललाई समेटेर मोर्चाको विस्तार
गरेको विषयमा सद्भावनाले ‘सन्तोष व्यक्त’ गर्दै संसदबाहिरका आन्दोलनरत
तराई–मधेस केन्द्रित दललाई समेटेर महागठबन्धन बनाउन अपिल पनि गरेको छ ।
आन्दोलन क्रममा भएको दमनबारे छानबिन गर्न न्यायिक आयोग बनाउनुपर्ने
सद्भावनाको माग छ । आन्तरिक पार्टी संगठन निर्माण र अधिवेशन गर्न चैत १५–१६
गते राष्ट्रिय कार्यसमिति बैठक विराटनगरमा आह्वान गरेको छ ।

Share.

Leave A Reply